चन्द्रागिरि बचत तथा ऋण सहकारी संंस्था लि. को २३ औं वार्षिक साधारण सभा आज मंसिर १८ गते सम्पन्न भएको छ । ३ वटा विभिन्न एकाइ सभा र आज निर्णय प्रमाणित गर्ने सभा सहित उक्त सभा सम्पन्न भएको हो । पहिलो एकाइ सभा लाजिम्पाट काठमाण्डौंमा, दोश्रो एकाइ सभा महालक्ष्मीस्थान ललितपुरमा र तेश्रो एकाइ सभा शहिद स्मृति प्रकृति प्रतिष्ठान(त्रिभुवन पार्क) थानकोटमा आयोजना भएको थियो भने तीनैवटा एकाईसभाबाट मनोनित प्रतिनिधिहरु सम्मिलित निर्णय प्रमाणित गर्ने सभा थानकोट काठमाण्डौमा आयोजना भएको हो ।
सहकारी विभागले जारी गरेको सहकारी संस्थाको साधारण सभा कार्यव्यवस्था निर्देशिका २०७६ अनुसार सबै एकाइ सभाहरुमा समान कार्यसूचीहरु माथि छलफल तथा निर्णयहरु गर्दै एकाई सभाहरु सम्पन्न भएका थिए भने एकाइ सभाहरुले एकाइ सभाको निर्णय प्रमाणित गर्ने प्रतिनिधि र एकाई प्रतिनिधिहरुको निर्णय प्रमाणिकरण गर्ने सभाको प्रतिनिधिहरु मनोनय गरेको थियो । संस्थामा कायम रहेको १९,७५६ जना सदस्यहरु मध्ये एकाइ १ सभामा २,०९१ जना मध्ये १,०६६ जना, एकाइ २ सभामा २,१५३ जनामध्ये १,०९८ जना र एकाइ ३ सभामा १५,५१२ जना मध्ये १०४९३ जना सदस्यहरु सहित जम्मा १२,६५७ जना सदस्यहरु यस २३ औं वार्षिक साधारण सभामा सहभागी हुनुभएको थियो । यस २३ औं वार्षिक साधारण सभाले शिवशंकर मानन्धरज्यूको अध्यक्षतामा ३३% महिला र ३३% युवा सदस्यहरुको सुनिश्चितता संगै १३ सदस्यीय नयाँ सञ्चालक समिति र भानु प्रकाश ढकालज्यूको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समितिको निर्वाचन समेत सम्पन्न गरेको छ ।
२३ औं वार्षिक साधारण सभाको एकाई सभाहरुमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्रा.डा. गोविन्दराज पोखरेल एकाई ३ को प्रमुख अतिथि, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन एकाई २ को प्रमुख अतिथि र काठमाण्डौं बचत तथा ऋण सहकारी संघ लि.(कास्कून) को अध्यक्ष दिपक पनेरु एकाइ १ को प्रमुख अतिथि रहनु भएको थियो भने चन्द्रागिरि नगरपालिकाको उपप्रमुख बसन्ती श्रेष्ठ र बुढानिलकण्ठ नगरपालिकाको उपप्रमुख अनिता लामा एकाइ ३ र एकाइ १ सभाको विशिष्ट अतिथि रहनु भएको थियो ।
संस्थाको २३ औं वार्षिक साधारण सभाले विभिन्न १४ वटा प्रस्तावहरु पारित गरेको छ । जस्मा अध्यक्ष योगेन्द्रकुमार कुँवरज्यूले प्रस्तुत गर्नुभएको आ.व. २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिका संयोजक भानु प्रकाश ढकालज्यूले प्रस्तुत गर्नुभएको आ.व. २०८०÷८१ को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठज्यूले पेश गर्नुभएको आ.व. २०८१/८२ को अनुमानित बजेट तथा वार्षिक कार्यक्रम, पि बिनय एण्ड एसोसिएट्सले पेश गरेको आ.व. २०८०/८१ को लेखापरीक्षण प्रतिवेदन लगायतका विषयहरु रहेका छन् ।
हाल संस्थामा सदस्य २१,१९६ जना, शेयर पुँजी रु. २१,२७,४०,०००।–, संस्थागत पुँजी रु. ११,४३,५५,०००।–, बचत रु. २,९१,००,००,०००।– ऋण लगानी रु. २,३८,१७,००,०००।– रहेको छ भने संस्थाको कुल सम्पत्ति रु. ३,५५,३२,००,०००।– रहेको छ । आगामी वर्ष संस्थाले आकारमा बृद्धि गर्ने भन्दा पनि वित्तीय अनुपातहरुलाई सन्तुलित बनाउले लक्ष्य लिएको छ । संस्थाले आ.व. २०८१/८२ मा सदस्य संख्या २२,५०० र कुल सम्पत्ति ३,८९,५२,००,०००।– पु¥याउने लक्ष्य लिएको छ भन सदस्यता बृद्धि, सुरक्षित वित्तीय अवस्था, जोखिम व्यवस्थापन, वित्तीय समावेशीकरण, डिजिटल रुपान्तरण, सदस्य सन्तुष्टी, सामाजिक उत्तरदायित्व र नियामकीय अनुपालन र सुशासन संरक्षण गर्ने कार्यलाई आफनो प्राथमिकतामा राखेको छ ।
आम जनमानसमा सहकारी प्रतिको बदलिँदो छवीले गर्दा सहकारीको साख जोगाउनु पर्ने चुनौतीहरुको विचमा संस्थाले सहकारीका असल अभ्यासहरुलाई उजागर गर्ने, कार्यक्षेत्र भित्रको समस्याउन्मुख कम्तिमा १ वटा सहकारी संस्थालाई व्यवस्थापन सहयोग उपलब्ध गराउने र थप २ वटा सहकारी संस्थाहरुसंग एकीकरण गर्ने निर्णयहरु सहित यस २३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।